समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । नेकपाका अध्यक्ष समेत रहेका ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै शनिबार बिहान ट्वीट गर्दै भट्टराईले प्रश्न समेत गरेका छन् ।
उनले ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ ट्वीटमा लेखेका छन् । प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप पनि भट्टराईले लगाए । उनले हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ?’
प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं
— Baburam Bhattarai (@brb1954) July 18, 2020
यो पनि पढ्नुस्
काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमित तीनमध्ये दुई जना विदेशबाट फर्किएका र एक जना ब्युटीपार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको बताए । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छैन । प्रवक्ता डा. गौतमले अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदाय स्तरमा सङ्क्रमण फैलिएको कुरालाई पुष्टि गरेको छ भने ।
उनले सार्वजनिक सवारीसाधन तथा कार्यालय खुल्दैमा कोरोना सङ्क्रमणको जोखिम छैन भन्न नमिल्ने उल्लेख गर्दै सङ्क्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने बताए । उनले सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरूलाई कोरोनाबाट जोगाउन सकिने बताए ।
उनले काठमाडौँमा ट्राभल हिस्ट्री नभएकालाई समेत कोरोना देखिएपछि सङ्क्रमण फैलिएको हो या होइन पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका बैङ्क, मालपोत कार्यालय, अस्पताल लगायत भीड हुने विभिन्न स्थानमा स्वाब सङ्कलन गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् ।