चितवनको नारायणी नदि र राप्ति नदिमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ । नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.८१ मिटर पुगेको छ ।
जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा रहेकाले सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष ज्ञानप्रसाद खनालले बताए ।
यसैगरी चितवनको नारायणगढस्थित नारायणी नदी पुलमा पनि बाढीले सतर्कताको तह पार गरेको छ । नारायणगढ पुलमा ११ मिटरसम्म सतर्कताको तह मानिन्छ, तर अहिले जलसतह १२ मिटर पुगेको छ । यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ ।
रजैयामा ३.३० मिटरमा चेतावनीको तह मानिन्छ । अहिले पानीको सतह ३.३६ पुगेको छ । नारायणी र राप्ती नदीमा जलसतह बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उक्त क्षेत्रका वासिन्दाहरुको मोबाइलमा म्यासेज समेत पठाएर सतर्क रहन भनेको छ ।
यो पनि पढ्नुस्
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् । सोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी थप मागमा सहमति गरेका छन् तर कहिलेदेखि यातायात सञ्चालन गर्ने भन्ने कुराको कुनै निश्चित समय तोकिएको छैन ।
लामो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छ । महासङ्घ र विभागबीच सोमबार भएको छलफमा लामो तथा मध्यम दूरी खुलाउन उच्चस्तरीय समितिलाई निर्णय गर्न विभागले तत्काल सिफारिस गर्ने सहमति भएको छ । यातायात मजदुरको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५ प्रतिशत अनुदान गर्ने सहमति भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
कोरोनाका कारण यातायात क्षेत्रमा कुनै पनि किसिमको मानवीय दुर्घटना भएमा क्षतिपूर्तिका लागि कोष स्थापना गर्न सम्बन्धित मन्त्रालयलाई विभागले पहल गर्ने भएको छ । यातायात मजदुरलाई आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको स्वयंले व्यवस्था गर्नुपर्ने सहमति भएको छ ।
उपत्यकाका बस स्टेसनमा स्वचालित सेनिटाइजेसन काठमाडौँ महानगरपालिकाले राख्ने भएको छ तर कहिलेदेखि गाडी सञ्चालन गर्ने भन्ने सवालमा आफूहरूले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने उपाध्यक्ष स्वाँरको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।