दोलखा । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन अनुसार दोलखाका ९ स्थानीय तह मध्ये जिरी नगरपालिका मा सबैभन्दा धेरै बेरुजु देखिएको छ । जस अनुसार जिरी नगरपालिकाको एक आर्थिक बर्षको बेरुजु मात्रै ५ करोड ७ लाख ७० हजार रहेको छ । आर्थिक बर्ष २०७५/७६ मा जिरी नगरपालिकाको ७१ करोड ८५ लाख ९४ हजारको लेखा परिक्षण भएकोमा त्यसको ७ दसमलव शुन्य ७ प्रतिशत रकम बेरुजु देखिएको हो ।
जिल्लाका अन्य गाउँपालिकाको भन्दा कम बजेट रहेको जिरी नगरपालिकामा धेरै बेरुजु देखिनुले आर्थिक अनुशासन बिग्रदै गएको देखिएको छ । अघिल्लो आर्थिक बर्ष ७ करोड ५० लाख ८५ हजार बेरुजु भएर जिल्लामै बढी बेरुजु कायम भएको गौरीशंकर नगरपालिकाले आ.व. २०७५/७६ मा बेरुजु रकम घटाएको देखिए पनि बढी बेरुजु हुने स्थानीयतह मध्ये दोश्रो स्थानमा परेको छ ।
महालेखा परीक्षकको कार्यालयको ५७ औं बार्षिक प्रतिबेदन अनुसार कालिन्चोक गाउँपालिकाको ५ करोड ४५ लाख ६ हजार बेरुजु देखिएको छ । जिल्लाको सबैभन्दा ठुलो बजेट खर्च गर्ने भिमेश्वर नगरपालिकाको ६ करोड ९१ लाख ३५ हजार बेरुजु देखिएको छ । आ.व. २०७५/७६ मा मेलुङ गाउँपालिकाको ३ करोड ४६ लाख १६ हजार, बिगु गाउँपालिकाको ३ करोड ३४ लाख ७३ हजार, तामाकोशी गाउँपालिकाको २ करोड ५६ लाख ७६ हजार र बैतेश्वर गाउँपालिकाको १ करोड ७० लाख ७२ हजार रुपैयाँ रकम बेरुजु रहेको प्रतिबेदन सार्वजनिक भएको छ ।
शैलुङ गाउँपालिकामा भने लगातार २ बर्ष बेरुजु रकम सबैभन्दा कम देखिएको छ । आ.व २०७४/७५ मा २२ लाख ७९ हजार बेरुजु रहेको शैलुङमा अघिल्लो आर्थिक बर्षको लेखा परिक्षणमा १ दसमलव ४९ प्रतिशत अर्थात् १ करोड १९ लाख ५ हजार बेरुजु देखिएको छ । दोलखाका ९ स्थानीय सरकारमा आर्थिक बर्ष २०७५/७६ मा ३४ करोड ३१ लाख ९४ हजार बेरुजु रहेको छ । महालेखा परीक्षकको प्रतिबेदन अनुसार जनप्रतिनिधि र कर्मचारीका नाममा समेत बेरुजु देखिएको छ ।
स्थानीय सरकारमा नीति, नियम र निर्देशिका भन्दा बाहिर गएर मनलागि खर्च गर्ने परिपाटी देखिएका कारण बेरुजु रकम बर्षेनी वृद्धि हुँदै गएको कोष तथा लेखा नियन्त्रकको कार्यालय दोलखाले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले स्थानीय तहमा बेरुजु बढ्ने क्रम वृद्धि भइरहेकोमा चिन्ता ब्यक्त गर्दै बेरुजु कम गर्नु पर्नेमा जोड दिएको छ । स्थानीय सरकारमा बेरुजु रकम बढ्दै जाँदा अनियमितता समेत बढ्दै गएको छ ।
यो पनि पढ्नुस्
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।
रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए । उनले भने, ‘विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यस वर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।’
रथारोहणका लागि शुक्रबार पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न गरेको ७० वर्षीय ञवाल सूर्यमान डंगोलले बताए ।
हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।