नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ ।
०५७–५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै हतियार पनि माओवादीले लुट्न छाडेनन् ।
अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने भन्दै आर्मीले आफूले चलाइसकेका हतियारसहित सशस्त्रलाई प्रशिक्षित गर्न लागेको हो । सीमामा समस्या भइराखेको बेला सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई प्रशिक्षित र हतियार सम्पन्न गराउन तत्काल यसरी नै गर्जो चलाउनुको विकल्प नरहेको रक्षा मन्त्रालयस्थित स्रोतले बतायो ।
पुराना र प्रयोगमा आइसकेका हतियार मर्मत गरेर मध्य भदौबाट दिने प्रक्रिया शुरु भएको छ । सेनाले आफ्नालागि भने अमेरिकाबाट नयाँ हतियार ल्याउने तयारी थालेको छ । सेनासँग हाल १८ हजार बढी इन्सास राइफल छ । र, ०७४ सालदेखि नै नयाँ हतियार किनेको छैन । सेनाले चार वर्षदेखि नयाँ दरबन्दी पनि थपेको छैन । ९७ हजारको सीमाभित्र रिक्त पदमा मात्रै भर्ना लिने गरेको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
यो पनि पढ्नुस्
सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो ।
नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ ।
गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उनले व्यक्त गरे । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो ।
बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ । यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ ।
सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो । नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।