सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना सं’क्रमितको सख्या बढेसँगै केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको हो ।
उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ ।
प्रहरीले आज पास नभएका गाडीहरुलाई फिर्ता पठाइको छ भने पैदल हिँडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाएका २५ जनालाई प्रहरीले कारवाही गरेको छ ।
यो पनि पढ्नुस् :
दोलखामा हरेक वर्ष परम्परागत रुपमा मनाइँदै आएको भैरब कुमारीको जात्रा आजदेखि सुरु हुँदैछ । गाईजात्राको भोलिपल्टदेखि षष्टिसम्म पाँच दिन रातभर दोलखामा बाजागाजाको तालमा भैरब र कुमारीसहितको समूह युद्धको शैलीमा नाँच्दै रोचक जात्रा मनाइने चलन छ ।
विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । शिवभक्ति परिवारका समूहद्वारा भैरब र कुमारीको परिचयमा संचालन हुने यो भैरब कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ ।
तर, यस वर्ष भने कोरोनाका कारण जात्रालाई निरन्तरता दिने गरी औपचारिकता मात्र पूरा गरी मनाईदै छ । रातभर दोलखा बजारका विभिन्न टोलहरुमा नचाईने यो जात्रा यस वर्ष भने शहर परिक्रमा मात्र गरिने भएको छ । जात्राको सुरु गर्नु पूर्व बालकुमारी मन्दिर र भीमेश्वर मन्दिरमा रहेको कुन्तीको मूर्तिमा बलि दिनुपर्ने परम्परा रहेपनि कोरोनाको कारण भीमेश्वर मन्दिरको मुलगेट बन्दभएको कारण कोरा पूजा गरी जात्रा सुरु गरिदै छ ।
भैरब र कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्न आउने भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ । साथै, सरकारले भने अनुसार सामाजिक दूरी कायम गर्न आह्वान गरिएको भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिएका छन् । भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् ।
पौराणिक किम्वदन्ती
पौराणिक किम्वदन्तीका अनुसार दोलखामा ३ दिदीबहिनीलाई नागदहमा भेटेपछि तान्त्रिकले देवीको रुपमा दोलखामा ल्याएका थिए । जेठी र कान्छी त्रिपुरासुन्दरीमा बसे भने माइली भने कालिञ्चोक डाँडामा बसिन् । कान्छी चकचके स्वभाव भएकाले दिउँसो हराउने गर्थिन् । त्यही समयमा दोलखामा प्रतिदिन मानिस घटदै जान थालेपछि तान्त्रिक दाजु भाईले विचार गरी हेर्दा कान्छीले मान्छे खाने गरेको रहस्य पत्ता लगाए ।
यसलाई समाधान गर्नै पर्ने ठानी लुकामारी खेल्ने बाहाना बनाई दुवै दाजुभाई मिलेर कान्छीलाई बालकुमारीमा खाल्डो बनाई माथिबाट ढकनीले छोपी दिएछन् । खाल्डो भित्र पस्न पुगेपछि देवी ड’र त्रा’सले रोई कराई गरिन् । पछि दया लागेर उनीहरुले वर्षमा ५ दिन भैरवलाई अगाडि लगाएर मात्र बाहिर आउन शर्त राखेपछि सोही दिनदेखि ५ दिनसम्म भैरवकुमारी जात्रा निकाल्ने परम्परा सुरु भएको जनविश्वास छ ।