पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ ।
नेपाल आयल निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यक्रम सूचीकृत गरिएको छ । केरुङदेखि काठमाडौँसम्म प्रस्तावित पाइप–लाइन बिछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रमणमा समेत पेट्रोलियम आपूर्तिबारे छलफल तथा सहमति भएको थियो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले चीनको केरुङदेखि काठमाडौँसम्म पाइपलाइन बिछ्याउने योजना अगाडि बढाइएको बताउँदै चालू आर्थिक वर्षमा निगमले उक्त पाइप लाइनबारे प्रारम्भिक अध्ययन गर्ने जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
यो पनि पढ्नुस्
उपत्यकामा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन वार्ड नभएको कारण आलोचना खेपेको उपत्यकाका नगरपालिका मेयर फोरम आइसोलेसन र क्वारेन्टाइन बनाउने तयारीमा जुटेको छ । मेयर फोरमले चार दिनअघि राजधानीमा आयोजना गरेको बैठकमा उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन संघीय सरकारले निर्माण गर्नुपर्ने र त्यसको व्यवस्थापन स्थानीय निकायले गर्ने निर्णय गरेको थियो । आइसोलेसन नबनाउने निर्णयको विरोध गरेको फोरमलाई जनताको प्रश्न छ– ‘मेयर साब, खै त आइसोलेसन ?’
देशकै ठूलो काठमाडौं महानगरपालिकामा क्वारेन्टाइन र आइसोलेसन नहुँदा गम्भीर समस्या परेको गुनासो आउन थालेपछि काठमाडौं महानगरपालिका र उपत्यकाका नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन शुरु गरेका हुन् । उपत्यकामा कोरोना संक्रमणको कारण अस्पतालहरु भरिभराउ हुन थालेपछि दुई महानगरसहित स्थानीय तह तातेको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको दुई स्थानमा आइसोलेसन वार्ड निर्माण गरेको बताउनुभयो । उहाँले वागडोलस्थित ज्यापु समाजको भवनमा ५४ र नेपाल युथ फाउन्डेसनको भवनमा ३२ शैय्याको आइसोलेसन निर्माण भएको बताउनुभयो । यसअघि सातदोबाटोस्थित एन्फा खेल मैदानमा स्थापना गरिएको क्वारेन्टाइन खाली गरेपछि दुई स्थानमा तयार गरेको हो ।
तर, देशकै ठूलो र सुविधा सम्पन्न काठमाडौं महानगरपालिकाले आइसोलेसन तयार गर्न सकेको छैन । कामपाका मेयर विद्यासुन्दर शाक्यले संघीय राजधानी भएको काठमाडौमा आइसोलेसन बनाउने काम स्थानीय तहको नभएको जिकिर गर्दै संघले निर्माण गरेको आइसोलेसन र क्वारेन्टाइनलाई स्थानीय तहले व्यवस्थापन गर्ने तर्क राख्दै आउनुभएको थियो । उपत्यकाका केही स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गरे पनि काठमाडौं महानगरसँग क्वारेन्टाइन छैन ।
कामपाका उपमेयर हरिप्रभा खड्की श्रेष्ठले महानगरको आफ्नो क्वारेन्टाइन र आइसोलेसन नहुँदा सर्वत्र आलोचना खेप्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मेयर फोरमका अध्यक्ष रहनुभएका कामपाका मेयर विद्यासुन्दर शाक्यले अहिले आइसोलेशन र क्वारेन्टाइन बनाउन नपर्ने भन्दै हिँड्नुभएको छ । मेरो भनाइ सोध्नुहुन्छ भने महानगरले बदनाम कमाउनबाट जोगिन तत्काल आइसोलेसन निर्माण शुरु गर्नुपर्छ ।’
महानगरका थुप्रै खाली भवन, विद्यालय र अन्य संरचना खाली रहेको अवस्थामा तत्काल निर्माण गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले मेयरले आफूखुसी क्वारेन्टाइन र आइसोलेसन बनाउन हुँदैन भन्नु गलत भएको बताउनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।