सरकारले आज (शुक्रबार) सम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा सो रकम खर्च भएको जानकारी दिएका छन् । उनका अनुसार यसमा पीपीई, मास्कलगायतको खर्च जोडिएको छैन ।
गौतमले ३ अर्ब १८ करोड बढी खर्च गरेर हालसम्म ३० हजार ४ सय ८३ जनामा पोजेटिभ केस पाइएको भन्दै यस हिसावले एक जना सं’क्रमित भेट्टाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको पनि जानकारी दिएका छन् ।
यसबाहेक सं’क्रमित पुष्टि भएपछि पनि उपचारमा ठूलो धनराशी खर्च हुने भन्दै कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरेका छन् । निषेधाज्ञाको बेला पनि घरबाहिर निस्केको पाइएको भन्दै उनले निस्कनै परे अनिवार्य मास्क लगाउन र एकापसमा २ मिटरको दूरी कायम गर्न अनुरोध गरेका छन् ।
यो पनि पढ्नुस्
सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।
अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ र होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।
विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एक मन्त्रीले जानकारी दिए । यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ ।
यसअघि सोमबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान राखेको थियो । त्यो निर्णयका कारण दुबई गएको नेपाल एयरलाइन्सको विमान खाली नै फर्किएको थियो तर त्यही दिन टर्कीबाट र बिहीबार बंगलादेशबाट चार्टर उडान भएको छ ।
त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले बतायो । ‘१० वटा तोकिएका स्थल नाकाहरुबाट आउनेहरुले पनि सात दिनसम्म स्थानीय होटलमा अनिवार्य रुपमा बस्नैपर्छ र कोरोना परीक्षण गराउनैपर्छ,’ स्रोतले भन्यो, ‘होटल खर्च आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।’
बिहीबार बसेको मन्त्रिपरिषद बैठक कोरोना रोकथामकै एजेण्डामा केन्द्रित थियो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा धेरै बोलेनन् । उनले सबै मन्त्रीहरुलाई आ-आफ्ना धारणाहरु राख्न समय दिएका थिए । मन्त्रिपरिषद बैठक खास गरी बढ्दो कोरोना महामारी र यसको रोकथामको विषयमा केन्द्रीत रहेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सीसीएमसीले तयार पारेको प्रस्तावलाई अगाडि बढाउने र सरकारको निर्णयलाई एकरुपता दिनेबारे बैठकमा छलफल भएको ती मन्त्रीले बताए । बैठकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय गरेको बताईएको छ ।
काठमाडौं उपत्यकाको हकमा समन्वय गर्न गहृ मन्त्रालयका सहसचिवको नेतृत्वमा एकमिटी गठन गर्ने निर्णण भएको एक मन्त्रीले जानकारी दिए । कमिटीमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरु रहनेछन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दु:खद नि’धन भएकोमा औपचारिक रुपमा श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बाढीपहिरो र कोरोना लगायतका प्र’कोपबाट मृ’त्यु हुनेहरुप्रति पनि मन्त्रिपरिषद बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ ।