मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएका रामेछापका एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना स’ङ्क्रमण पुष्टि भयो। सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवार नै सङ्क्रमणको कारक बन्न पुग्यो।
सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत छन्। भदौ ७ मा नागरिक अस्पतालमा अन्य पाँच जनाको पीसीआर परीक्षण गरियो। उनीहरुको रिपोर्ट पनि पोजिटिभ आयो। भदौ ७ मा निजामती अस्पतालमा भर्ना भएकी सङ्क्रमितकी छोरी ८ गते सुत्केरी भइन् र ९ गते डिस्चार्ज भइन्।
बुबालाई कोरोना सङ्क्रमण भएर पाटन अस्पताल लगेपछि सोही अस्पतालमा पाँच हजार ५०० रकम तिरेर उनले पनि १० गते पीसीआर गरिन्। ११ गते सुत्केरीमा पनि सङ्क्रमण देखियो। परिवारका अन्य १० जनाको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा पीसीआर गरियो। अन्ततः परिवारका सबैमा कोरोना सङ्क्रमण देखियो। उनीहरुलाई कहाँ जाने र के गर्नेको अवस्थामा पुर्यायो।
जनस्वास्थ्य कार्यालयले घरमै बस्नु कहीं नजानु भनेपछि परिवार सबै घरमै बसेका थिए। सङ्क्रमित एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमणक भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयको छ। एकैबाट १४ जनामा सङ्क्रमण फैलिनु त्यो परिवारका लागि निकै कष्टकर समय थियो।
चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्धासहित उनीहरुको परिवारलाई न दिनमा भोक, न रातमा निद्राझैँ भएको बेलामा अर्को आपत्ति आइलाग्यो। वडाध्यक्षसहितको जनप्रतिनिधि र स्थानीय केही व्यक्तिले टोलमा सङ्क्रमण फैलिन सक्छ भन्दै प्रहरीकै अगाडि घर छाड्न दबाब दिन थालेको बताइएको छ।
एम्बुलेन्स विद्युत् प्राधिकरणको खरिपाटीस्थित आइसोलेसनमा पुगेर बच्चासहितको परिवार ओर्लियो। यसपछि स्वाथ्यकर्मीलाई तनाव भयो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले यस्तो विपद्मा बच्चा बोकेर सुत्केरी आइसोलेसनमा आउनु पीडादायक भएको बताउँदै सुत्केरीलाई स्याहार नहुने भएकाले घरमै फर्काउन माथिल्लो निकायसम्मलाई भन्नुपरेको बताइन्।
स्वास्थ्यकर्मीले घर फर्किन भनेपछि सङ्क्रमितका परिवार झन् पीडामा पुगे। गाउँले घर नबस भन्छन्, आइसोलेसनका स्वास्थ्यकर्मी यहाँ नबस भन्छन्, अब जाने कहाँ, महिला, बालक र ज्येष्ठ नागरिकको मनमा निकै पीडा भयो। अन्तत शुक्रबार राति ९ बजे पुनः एम्बुलेन्समा राखेर सबै परिवारलाई बोडेस्थित टहरामै फर्काइयो।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सङ्क्रमितलाई सहयोग गर्नुपर्नेमा स्थानीयवासीले नै घर छोड्न दबाब दिएको थाहा पाएपछि तत्काल प्रहरीलाई उनीहरुको घरमै बस्ने व्यवस्था मिलाउन र अवरोध गर्नेलाई कारवाही गर्न भनेपछि राति उनीहरुलाई फर्काइएको जानकारी दिइन्। उनले विपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्नेमा अपहेलना गर्नु कानूनविपरीत रहेको जनाउँदै मानिसमा मानवता हराउँदै गएको आभाष भएको बताइन्।
बोडेका सङ्क्रमित परिवारलाई अहिले वडाध्यक्षसहितका केही स्थानीयवासीले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको र उनीहरुलाई भित्रै बस्न भनिएको छ। आइसोलेसनमा सुत्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए। सरकारको नीतिअनुसार पनि होम आइसोलेसनमा बस्नुपर्ने भएकाले सबैलाई आइसोलेसनमा राख्न नसकिने उनले जानकारी दिए।
मध्यपुरथिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी चक्रधरले जनप्रतिनिधि र स्थानीयवासीको गलत नियत नभएको दाबी गरे।
भक्तपुरको बोडेमा तीनभन्दा बढी परिवार, लोकन्थली, गठ्ठाघर, बालकोट, पाण्डुबजार, कटुञ्जे, सूर्यविनायक, सिपाडोल, मध्यपुरथिमि, बागेश्वरीलगायतका क्षेत्रमा परिवारमा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए। उनका अनुसार सङ्क्रमित परिवार होमआइसोलेसनमा बसेको जनाउँदै यसरी बस्नेको एउटै भान्छा र शौचालय प्रयोग गर्दा परिवारमा सङ्क्रमण फैलिएको पाइएको उनको भनाइ छ। (रासस)
यो पनि पढ्नुस्
अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृ’त्यु हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो। खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो। जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो।
नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही सातापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्रक्षेपण गर्दै भन्यो, ‘मुलुकलाई कोरोना संक्रमणमुक्त राष्ट्र घोषणा गर्नुपर्छ। विभिन्न भाषामा प्रचार सामग्री तयार गरी पर्यटक भित्र्याउनुपर्छ।’
नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ साबित भएका छन्। अक्सफोर्डको प्रक्षेपणअनुसार समुदायमा संक्रमण फैलिइरहेको अवस्थामा कोरोनाबाट झन्डै २ करोड ४० लाख जनसंख्या संक्रमित हुनेछन्। जुनदेखि सेप्टेम्बर (असार १७ देखि भदौ १५ गतेसम्म) प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने प्रक्षेपणमा उल्लेख छ। जुलाईदेखि अक्टोबर (साउन १७ देखि कात्तिक १५ सम्म) संक्रमण उच्च बिन्दुमा पुग्ने जनाइएको छ।
स्वास्थ्य मन्त्रालयका पदाधिकारी भने नेपालमा सबै ठाउँमा कोरोना संक्रमण समुदाय तहमा फैलिनसकेको दाबी गर्छन्। कोरोना संक्रमण कतिपय ठाउँमा क्लस्टर (समूहमा) र तराईका कतिपय स्थानमा समुदाय उन्मुख रहेको मन्त्रालयले जनाएको छ ।