कोरोना भाइरसवि’रुद्धको खोपको विश्वकै सबैभन्दा ठूलो ट्रायल संयुक्त अरब इमिरेट्स (यूएई) मा गरिएको छ । चीनको नाइना नेशनल फार्मास्युटिकल ग्रुप कर्प अर्थात सिनोफार्मले विकास गरेको भ्याक्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल युएइमा गरिएको हो ।
यो ट्रायलमा ३१ हजार जना स्वयंसेवक सहभागी थिए । यी स्वयंसेवकमध्ये नेपाली पनि थिए तर नेपालीको संख्या कति थियो भन्ने खुलासा भइसकेको छैन । खलीज टाइम्सका अनुसार ६ हप्तामा यी सबै स्वयंसेवकलाई भ्याक्सिन लगाइएको हो । अब स्वयंसेवकको लागि नाम दर्ता बन्द गरिसकिएको बताईएको छ ।
स्वास्थ्य अधिकारीहरुले स्वयंसेवकहरुको संख्या पर्याप्त भइसकेकोले नयाँ स्वयंसेवक दर्ता बन्द गरिएको बताएका छन् । भ्याक्सिन लगाउने स्वयंसेवकहरु नेपालसहित १ सय २० भन्दा धेरै देशका नागरिकहरु छन् । स्थानीय अधिकारीहरुले कम समयमै भ्याक्सिनेशनको लक्ष्य पूरा गरेकोमा स्वास्थ्य कर्मचारीहरु र स्वयंसेवकहरुको प्रशंशा गरेका छन् ।
यूएईमा ट्रायल गरिएको यो भ्याक्सिनलाई चीनले तयार गरेको हो । चीनको कम्पनी सिनोफार्मले संयुक्त अरब इमिरेट्सको जी ४२ हेल्थकेयरसँग मिलेर ट्रायलको अभियान चलाएको हो । सिनोफार्मले पहिलो र दोस्रो चरणको ट्रायलमा भ्याक्सिनले राम्रो नतिजा दिएको बताएको छ । रिपोर्टका अनुसार हजारौं मानिसहरुलाई भ्याक्सिनको दोस्रो डोज दिइसकिएको छ । अब ती स्वयंसेवकहरुको निरन्तर निगरानी गरिएको छ ।
यो पनि पढ्नुस्
पर्वतको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जाइटिस अर्थात मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुन्निने रोगबाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् ।
उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । त्यतिमात्र होइन, उनी आफैँ खानसमेत सक्दैनन् । सहजरूपमा स्वास फेर्न पनि गाह्रो हुन्छ । शुरुआतमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गर्ने तथा नेपालका सबैजसो अस्पतालमा पुर्याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताइन् ।
शारीरिक रूपमा वृद्धि भए पनि हातखुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि काठको मुढोजस्तै चौबिसै घण्टा पल्टाएर वा ह्विलचियरमा ठडाएर राख्ने गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको सुवेदीको परिवारका जेठा छोरा सन्दीपको अवस्था यस्तो भएपछि ठूलो समस्या परेको सन्दीपका बाबु कृष्णप्रसादले गुनासो गरे । सुवेदी परिवारका अन्य दुई सन्तान भने सपाङ्ग नै छन् ।
देख्दै असहजजस्तो देखिने उनको अवस्थाले परिवारका सदस्य पिरोलिने गरेका छन् । उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ । आमाबाबुले रात र दिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाको भनाइ छ । नेपालमा उपचारको अर्को पद्धति नभए पनि कतैबाट आर्थिक सहयोग पाएमा विदेशमा लैजाने सोच रहेको उनीहरुको छ ।
भगवानले पनि आफ्नो जस्तो गरिब परिवारमा बज्रपात पारिदिएको कल्पनाको दुखेसो छ । सन्तान पाएपछि हुर्काउँला, बढाउँला, पढाउँला र उनीहरुको कमाइबाट सुखसयलमा बसौँला भन्ने अभिभावकको चाहना चकनाचुर भएको कृष्ण दम्पतीको गुनासो छ ।
सन्दीपले पूर्ण अपाङ्गताको सुविधा पाउँदै आएका छन् भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि रु पाँच हजार सहयोग पाएका छन् । यसबाहेक अहिलेसम्म राज्यबाट उपचारका लागि होस् वा दैनिक स्याहारसुसारका लागि होस् कुनै पनि सहयोग नपाएको गुनासो उनीहरुको छ ।