मंगलबार नेपाल विद्युत् प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएको कुरा धेरैलाई चित्त बुझेको छैन । उनको पुनर्नियुक्तिका लागि सर्वासाधारणदेखि कलाकारसमेतले अभियान नै चलाए । कुलमान घिसिङको पक्षमा माइतीघरमा प्रदर्शनसमेत भइरहेको छ । यस्तै गायक अमृत गुरुङलाई पनि कुलमानको बिदाइले खिन्न बनाएको छ । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
बुधबार अपरान्ह अमृत गुरुङले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुसी भएको थिएँ, अहिले कुलमानको बिदाई समाचारले खिन्न भएँ । म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ । राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्र्याको शिकार हुने परिपाी सुरु भएको हो भने अब त्यो पनि भन्न भएन । स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।’
उनले लेखेको पोस्टमा आधा घण्टा नबित्दै ३१ सय बढीले रियाक्ट गरेका छन् भने ५१ जनाले कमेन्ट गरेका छन् । यस्तै १ सय ३० बढीले सेयर पनि गरेका छन् ।
यो पनि पढ्नुस्
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त बैठकमा त्यो अजेन्डाले प्रवेशै पाएन ।
मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेशै गराएनन् । एक मन्त्रीका अनुसार पुनले बैठकमा ‘प्रधानमन्त्रीज्यू, मेरो अजेन्डा’ भन्नासाथ ओलीले ‘पछि’ भनेर जवाफ दिएका थिए ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सोहीअनुसार विभिन्न गुट छन् । त्यस्ता गुटको अन्तरद्वन्द्वको भुंग्रोमा घिसिङ पुनर्नियुक्तिको विषय पिल्सिन पुगेको नेकपाका एक नेताको बुझाइ छ । सोमबार बिहान र साँझ नेकपाका दुई नेताले सामाजिक सञ्जालमा अभिव्यक्त गरेको मतले पनि उनको बुझाइलाई पुष्टि गर्छ ।
मन्त्रिपरिषद्को बैठक बस्ने दिन सोमबार बिहान नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको भन्दै ट्विट गरेका थिए । सचिवालय सदस्यसमेत रहेका श्रेष्ठको उक्त ट्विटलाई अर्थपूर्ण रूपमा लिइएको थियो ।
साँझपख प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले घिसिङकै विषयमा प्रवक्ता श्रेष्ठलाई कटाक्ष गर्दै फेसबुकमा लामो स्टाटस लेखे । ‘एक अवधि पूरा गरेर हिजो (आइतबार) बिदा भएका व्यक्तिका पक्षमा पार्टीका प्रवक्ताको यस खुला लबिङले कतै ‘। कुम्लो बोकी ठिमीतिर’ जस्तो पो भयो कि ?
नेकपाभित्र घिसिङलाई तत्कालीन माओवादी केन्द्र समूहनिकट मानिन्छ । उनलाई विद्युत् प्राधिकरणको नेतृत्वमा सोही पार्टीको प्रतिनिधित्व गर्ने तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ल्याएका थिए ।
खुला प्रतिस्पर्धामार्फत उनलाई नेतृत्वमा चयन गरिएको थियो । २०७३ भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो भने उनले २०७३ भदौ ३१ गते पदभार ग्रहण गरेका थिए । कतिपयले घिसिङलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट पनि मान्ने गरेका छन् ।
घिसिङ नेतृत्वमा आएपछि दैनिक १४ घन्टा लामो लोडसेडिङबाट जनताले मुक्ति पाए । यसैकारण उनको चौतर्फी प्रशंसा हुने गरेको छ । उनको चुलिएको प्रशंसाले सरकारलाई नै अप्ठ्यारोमा पारेको प्रधानमन्त्रीनिकटहरूको बुझाइ छ । कार्यकाल सकिने समयमा उनलाई पुनर्नियुक्ति दिन माग गर्दै सडकमा प्रदर्शनसमेत हुन थालेका छन् । ‘सरकारी स्रोतसाधन प्रयोग गरेर आफू हिरो हुने तर त्यसको जस सरकारले नपाउने स्थिति आयो,’ नेकपाका एक नेताले भने, ‘यसैले उहाँबारे पार्टीभित्रै असन्तुष्टि देखिन्छ ।’