काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले पछिल्लो दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जनाएको छ । यस वर्ष २३ सेप्टेम्बर अर्थात आज (बुधबार) मनसुन सकिने दिन भएपनि मनसुन अझै कहीदिन सक्रिय रहने महाशाखाले अनुमान गरेको छ । महाशाखाका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुनेछ । गत वर्ष जस्तै यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन रहने प्रारम्भिक अनुमान छ तर नेपालमा लामो समयको पूर्वानुमान गर्न आवश्यक पूर्वाधार नभएकोले कहिले सम्म मनसुन रहन्छ अहिले नै भन्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा पूर्वी र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ र त्यसकै प्रभावले अझै केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधबारसम्म देशभर मनसुनी प्रभाव कायम हुने सम्भावना छ । दुई दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय हुनेछ ।
त्यस्तैगरी नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्पसहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैँ दोहोरिने भएको हो । मनसुन सकिने मिति घर्किंदै गर्दा पश्चिमी वायुसमेत सक्रिय हुने भएकाले त्यसका लागि समेत अहिलेको मनसुनी वायुले भूमिका खेल्ने अनुमान गरिएको छ । पश्चिमी वायु उच्च भएसँगै पूर्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि मनसुन सकिन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ ।
यो पनि पढ्नुस्
कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको हो ।
सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘कर्मचारीले प्याज सिल गरेका छन्, कालोबजारी ऐनअनुसार मुद्दा दर्ता हुने प्रक्रियामै छ । तर प्याज बिग्रने/नासिएर जाने अवस्था भयो,’ उनले भने, ‘पैसा धरौटी रकम खातामा जाने गरी प्याज बेच्ने निर्णय गरेका छौं ।’ सिल गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई प्रतिकिलो ५२ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको उनले जनाए ।
कम्पनीले भने प्याज ढुवानी, प्याकेजिङ, कर्मचारी खर्चसहित जोडेर प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्ने दाहालले बताए । ‘भन्सार बिन्दुको परल मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ । कृषि सुधार शुल्क, ढुवानी, लोडअनलोडसहित प्रतिकिलो ५२ रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘त्यसमा ७/८ रुपैयाँ जोडेर खाद्यले सर्वसाधारणलाई बेच्छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।