काठमाडौँ : सरकारले घोषणा गरेको लकडाउन र निषेधाज्ञाका कारण महिनौदेखि बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला गरिएको छ । केन्द्र, प्रदेश सरकारका कुनै पनि निकायले मन्दिर खोल्ने निर्णय नगरेपनि श्रद्धालुहरुको द’बावपछि आइतबारदेखि मन्दिर खुल्ला गरिएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए ।
लकडाउन सुरु भएसंगै बन्द गरिएको मन्दिर खुल्ला गरिएपछि सो क्षेत्रमा चहलपहल बढेको छ । मन्दिर खुल्ला गरिएपनि कोरोना महामारीको त्रासले सीमानाका बन्द र सार्वजनिक यातायातमा आवात जावतमा कमी भएको कारण बाहिरका श्रद्धालु एवं दर्शनार्थीको संख्यामा कमी देखिएको छ ।
अहिले दैनिक ३ सयदेखि ४ सयसम्म दर्शनार्थी आइरहेका छन् । उनीहरुलाई दूरी कायम गरी दर्शन र पूजापाठ गर्न दिइएको उनले बताए । मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि संचालनमा आएको छ । मन्दिर आसपास भएका मिठाइ, फुल तथा अन्य सामग्रीका पसल संचालनमा आएको छ ।
यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो । लकडाउनका कारण मन्दिर बन्द गरिँदा यस पटकको राम नवमी, सीता नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो ।
यो पनि पढ्नुस्
मौसम पूर्वानुमान महाशाखाले पछिल्लो दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जनाएको छ । यस वर्ष २३ सेप्टेम्बर अर्थात आज (बुधबार) मनसुन सकिने दिन भएपनि मनसुन अझै कहीदिन सक्रिय रहने महाशाखाले अनुमान गरेको छ । महाशाखाका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुनेछ । गत वर्ष जस्तै यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन रहने प्रारम्भिक अनुमान छ तर नेपालमा लामो समयको पूर्वानुमान गर्न आवश्यक पूर्वाधार नभएकोले कहिले सम्म मनसुन रहन्छ अहिले नै भन्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा पूर्वी र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ र त्यसकै प्रभावले अझै केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधबारसम्म देशभर मनसुनी प्रभाव कायम हुने सम्भावना छ । दुई दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय हुनेछ ।
त्यस्तैगरी नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्पसहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैँ दोहोरिने भएको हो । मनसुन सकिने मिति घर्किंदै गर्दा पश्चिमी वायुसमेत सक्रिय हुने भएकाले त्यसका लागि समेत अहिलेको मनसुनी वायुले भूमिका खेल्ने अनुमान गरिएको छ । पश्चिमी वायु उच्च भएसँगै पूर्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि मनसुन सकिन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ ।