नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको पाँचथरको फालेलुङ गाउँपालिका-६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ। पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले उक्त स्थानलाई आफ्नोतर्फ पारेर लाभ लिने मनसायले भारतीय पक्षले कब्जाको प्रयास गरेको टोलीको निष्कर्ष छ।
उक्त स्थानलाई आफ्नोतर्फ पार्न भारतले नेपाली भू-भागमा भौतिक संरचना निर्माण अवरोध गर्नुका साथै स्थानीयवासीलाई मानसिक तनाव दिएको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ। उक्त स्थानबाट पूर्वतर्फ भारतमा संरक्षित क्षेत्रका रूपमा सिंहलीला राष्ट्रिय निकुञ्ज रहेको र उक्त स्थानमा भौतिक संरचना निर्माण गर्न नसकिने भएपछि भारतीय पक्षले नेपाली भूभाग कब्जा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेको छ।
गत वैशाख अन्तिम साता उक्त स्थानमा सङ्ग्रहालय निर्माणमा भारतीय पक्षले अवरोध गरेको थियो। भारतीय वन कर्मचारीको स्वार्थअनुसार उक्त क्षेत्रलाई भारततर्फ पार्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालमा अनावश्यक दबाब दिने गरेको अध्ययन टोलीले प्रतिवेदनमा उल्लेख छ।