इटालीका एक संक्रामक रोग विशेषज्ञ डाक्टर माटेओ बसेटीले कोरोना भाइरस (कोभिड-१९) कुनै खोप नबनेपनि आफैँ हराउने दाबी गरेका छन् । टेलिग्रााफले उल्लेख गरे अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुख डाक्टर बसेटीले कोरोना भाइरस अहिले पहिलाको तुलनामा कम जोखिमपूर्ण बनेको र यो अबको केही समयमा आफैं हराएर जाने दाबी गरेका हुन् ।
बसेटीका अनुसार मार्च र अपि्रलको शुरुको तुलनामा अहिलेको अवस्था निकै फरक बनिसकेको छ । उक्त समयमा मानिसहरुलाई यो रोगले निकै च्याप्ने गरेको उनको भनाइ छ । त्यतिबेला यो बिरामीलाई सम्हाल्न निकै कठिन हुने अवस्था देखिएको थियो र मानिसहरुलाई अक्सिजन र भेन्टिलेसनमा राख्नुपर्ने र केहीमा निमोनियाको समस्या पनि देखिएको थियो ।
पछिल्लो एक महिनामा भने कोरोना भाइरसका बिरामीको प्रकृति परिवर्तन भएको बसेटीको भनाइ छ । कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम राख्नेजस्ता सुरक्षाका उपायहरुको कारण कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको हुनसक्ने उनको भनाइ छ ।
बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने पनि उल्लेख गरेका छन् । यद्यपि अन्य विशेषज्ञहरुले भने यो भाइरस पूर्णरुपमा हराउन केही वर्ष लाग्न सक्ने बताएका छन् ।