दोलखाको जिरी नगरपालिकाले आज छैठौ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख टंक जिरेलको अधक्षतामा भएको नगरसभामा उपमेयर कृष्णमाया खड्काद्वारा कुल ५१ करोड ८ लाख १२ हजार बजेट प्रस्तुत गरिएको छ ।
पूँजीतर्फ २१ करोड ३७ लाख (४१.८४ प्रतिशत) र खर्चतर्फ २९ करोड ७१ लाख १२ हजार (५१.१६ प्रतिशत) बजेट विनियोजन गरेको हो । गत आर्थिक वर्षको तुलनामा १.४१ प्रतिशत कम बजेट ल्याएको नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले जानकारी दिइन् ।
नगरपालिकाले कृषि, पशुपालन, पर्यटन, सहकारी, शिक्षा, स्वास्थ्य र सडक तथा पदमार्गलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । यसैगरी, योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको मागलाई मध्यनजर गर्दै अर्गानिक फर्म स्थापना गरि जिरीलाई अर्गानिक खाना उत्पादन हुने नगरको रुपमा बिकाश गरिने बताईएको छ ।
स्वदेशमै रोजगारीको अवसर सृजना गरि युवाशक्ति विदेश पलायन हुनबाट रोक्ने, ज्ञान र शिप भएका युवालाई कृषिमा आबद्ध गर्न कृषिमा युवा बिशेष कार्यक्रम संचालन गरिने पनि नगरपालिकाले जनाएको छ ।