काठमाडौँ : टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कुल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् ।
यस्तै, वडा नं १ मा २८, २ मा ६२, ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ सङ्क्रमित भेटिएका हुन् । यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ सङ्क्रमित फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ७३६ पुरुष र ५६५ महिला रहेका छन् ।
कोरोना सङ्क्रमितमध्ये ८०७ जना निको भएर घर फर्किसकेका छन् भने ४८९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४११ होम आइसोलेशन र ५६ बिरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो । जसमध्ये २२ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।
टोखामा हालसम्म कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये वडा नं ४ मा एक, ६ मा एक, ८ मा एक र ९ मा दुईजना छन् । नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ श्ययाको आइसोलेशन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ ।
नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेशन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताउनुभयो । नगरपालिकाभित्रका सबै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ ।
हालसम्म झण्डै पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गरिसकेको छ । टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेशनमा बसेका बिरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णय गरिसकेको छ ।
नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताउनुभयो । – रासस
यो पनि पढ्नुस्
सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ ।
भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ । घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ ।
हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।
हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ । गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ ।
एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ । धेरै जसको भनाइ छ, ‘‘गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।’’ वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन ।
तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ । गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।