काठमाडौँ : संचारकर्मी अनु अर्पणलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ‘हाम्रो आफ्नै अनलाईन’ युटुब च्यानलकि संचालिका समेत रहेकी अनुले भिडियो मार्फत कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी गराउदै आफ्ना अनुभव सुनाएकी छिन् ।
काठमाडौँ मेडिकल कलेजमा स्वाब दिएकी उनले भोलिपल्ट रिपोर्ट पोजिटिभ आएको बताईन् । उनका श्रीमानमा कोरोनाको लक्षण देखिएको तर आफुलाई कुनै लक्षण नदेखिएको र अहिले होम आईसोलेसनमा बसिरहेको बताएकी छिन् ।
आफुलाई कोरोना संक्रमण भएपनि स्वस्थ नै रहेको उनले बताईन् । साथै, उनले कोरोना रिपोर्ट पोजिटिभ आउँदैमा नड’राउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।
यो पनि पढ्नुस्
ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ ।
गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।
उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो । गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता खान थालेका छन् । अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुषले भत्ता पाइरहेका छन् ।
गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन् । अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भन्नुभयो, “गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ । अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि सहज हुनेछ ।”
गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम गत वर्ष नै निर्माण गरेको छ । यस्तै गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई गाउँपालिकाको तर्फबाट रु एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्रसिंह धामीले बताउनुभयो । प्रोत्साहन रकम पाउने भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन् । रासस