काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका छन् ।
बिहीबार (आज) नेता रावलले ट्विट गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँगको भेट कूटनीतिक मर्यादाविपरीत रहेको बताउँदै आपत्ति जनाएका हुन् ।
पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भने सचिवालयमार्फत गोयलसँग भेटघाट नभएको बताइसकेका छन् ।
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020
यो पनि पढ्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलसँग भेटवार्ता भएको पुष्टि भएको छ । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको बताएका छन् । भेटवार्तामा गोलयले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताएका छन् ।
भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको हो । गोयल बिहीबार बिहान भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानबाट फर्केका छन् ।
यसैवीच गोयलले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रचण्डको सचिवालयले जनाएको छ ।