कोरोना (कोभिड–१९) भाइरसका कारण रोकिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनको ‘रोटेसन’ अब सुरु हुने भएको छ । यूएन मिसनले नेपाली सेनालाई बदली गर्नुपर्ने फौज तयारी अवस्थामा राख्न भनेको हो । जसअनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक हजार सैनिक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ ।
यूएनले सैनिक अधिकृत र कर्मचारीलाई कोरोना भाइरसको परीक्षण गरेर मात्र पठाउन भनेको बताईएको छ । त्यसका लागि नेपाली सेनाले पीसीआर मेसिन खरिदको तयारी पनि थालेको छ ।
यसका लागि सेनाले पहिलो पटक आह्वान गरेको टेण्डर रद्द भएको छ र दोस्रो पटक पुनः टेण्डर खुलाउन लागिएको छ । परीक्षणका लागि आवश्यक पीसीआर किट, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री नेपालस्थित अमेरिकी दूतावासले जंगीअड्डालाई सहयोग स्वरुप हस्तान्तरण गर्दैछ ।