बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् ।
आफूलाई ‘अभद्र व्यवहार’ गरेको भन्दै सपनाले उजुरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । केहि समय अगाडी युट्युब मार्फत सपनाकि आमा बुवाले आफ्नो छोरीलाई यौन दुर्ब्यबहार भएको भन्दै बोलेका थिए ।
सपनाले शुक्रबार नै जाहेरी दिन खोजेपनि सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले जानकारी दिए ।
बस्नेतले पनि एक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए । यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। बेवारिसे शव जलाउने काम गर्दा उनीहरु बाबुछोरीको रुपले परिचित थिए ।
म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।