प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टीमा चौतर्फी घेराबन्दीमा परेको बताएका छन्। बुधबारदेखि सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले आफूले पार्टीभित्र, बाहिर र अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिपक्षीहरू झेल्नु परेको गुनासो गरेका छन्।
उनले संसारभरि कम्युनिष्टहरू कमजोर भएको बेला नेपालमा दुई तिहाइ बहुमतको सरकार कम्युनिष्टको नेतृत्वमा बनेको अन्तर्राष्ट्रिय जगतलाई समेत मन नपरेको बताएका छन्। चौतर्फी समस्याका बीचमा पनि सरकारले सकरात्मक काम गरिरहेको भए पनि पार्टीभित्रैबाट साथ नपाएको ओलीको गुनासो रहेको छ।