जिरी । दोलखाको जिरी नगरपालिकाले किसानलाई खरिद गरेको मूल्य भन्दा बढी रकम लिएर किविको बिरुवा वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदान भन्दै १०० रुपैयामा खरिद गरेको किविको बिरुवा नगरपालिकाले डेढ सय रुपैयामा वितरण गरेको छ ।
शितोष्ण फलफुल रुट स्टक विकास केन्द्र बोचबाट प्रति गोटा १०० रुपैयामा नगरपालिकाले खरिद गरेको एक हजार किविको बोट किसानलाई प्रतिगोटा डेढ सय रुपैयामा बिक्रि गरेको पाइएको छ । ५० प्रतिशत अनुदानमा किसानले ५० रुपैया मा पाउनु पर्ने तर नगरपालिकाले उक्त बिरुवालाई डेढ सयको दरले वितरण गरेको हो ।
चालु आर्थिक वर्षमा किविको बिरुवा खरिदमा जम्मा ७ लाख ३० हजार नगरपालिकाबाट खटाएपछी शितोष्ण फलफुल रुट स्टक विकास केन्द्रबाट एक हजार र तिलोत्तमा रिसर्च सेन्टरबाट ४५ सय गरि जम्मा ५५ सय बिरुवा जिरी नगरपालिकाले खरिद गरेको कृषि शाखा प्रमुख विरेश जिरेलले बताए । नगरपालिकाले खरिद गरेको ५५ सय बिरुवा प्रतिगोटा किसानलाई १५० को दरले बिक्रि गरेको समेत कृषि शाखा प्रमुख जिरेलले जानकारी दिए ।
जिरी नगरपालिकाले शितोष्ण फलफुल रुटस्टक विकास केन्द्र र तिलोत्तमा फुड रिसर्च सेन्टरबाट खरिद गरेको ५५ सय किविको बिरुवा सबै वडा मा वितरण गरि सकेको नगरका कृषि शाखाले जनाएको छ ।