नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरिसकेपछि होस् या लकडाउनको विषयमा नै किन नहोस् महानायक राजेश हमालले आफ्नो मनको भावना र विचार अहिले सामाजिक सञ्जालमा भिडियोमार्फत व्यक्त गरिरहेका छन् । हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई कवितामार्फत स्वागत गरेका छन् ।
भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘हरेक दिन हजारौं हजार हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो घर फर्किँदैछन् । आउनुहोस् उहाँहरूलाई न्यानो स्वागत गरौं ।’ हमालले कवितामा भनेका छन्–‘ऊ छोरा कसैको, ऊ छोरी कसैकी, ऊ बुबा कसैको, ऊ आमा कसैकी । दाजु, दिदी, श्रीमती पनि । जे हुन् तर होइनन् पराई । जे हुन् आफ्नै त हुन् नि ।’
हमालले कोरोना भाइरसको सन्त्रासपछि विदेशबाट फर्किएका नेपालीहरू किन पराई भए भनेर पनि प्रश्न गरेका छन् । उनले सबै नेपालीहरुलाई नमस्ते गर्दै स्वागत गर्न अपिल गर्दै नेपालीलाई विदेशबाट घर फर्किन आग्रह गरेका छन् । हमालले ”अब कतै पनि जान पर्दैन” भन्दै नेपालमै केही गर्न विदेशबाट नेपाल फर्किएका र फर्किँदै गरेका नेपालीलाई आग्रह समेत गरेका छन् ।